डडेल्धुरा । अमरगढी नगरपालिका ३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरिएको छ । २४ वर्षीया अस्मिता थापामगरलाई घरायसी विवादका क्रममा गोली हानी हत्या गरेको आरोपमा ३२ वर्षीय डम्बरबहादुर थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार थापामगरले मादक पदार्थ सेवन गरी घरमा रहेको एकनाले भरुवा बन्दुक प्रयोग गरेर श्रीमतीको छातीमा गोली प्रहार गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बागबजारका प्रहरी निरीक्षक चन्द्रसिंह धामीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले थापामगरलाई घटनास्थलबाट करिब दुई सय मिटर टाढा जङ्गलमा भाग्दै गरेको अवस्थामा बन्दुकसहित पक्राउ गरेको जनाएको छ । हाल थापामगरलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




