बारा । मंगलबार बेलुकी र राति बारा जिल्लाका विभिन्न स्थानमा भएका तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
फेटा गाउँपालिका ३ फेटा बजारस्थित सडकमा मंगलबार बेलुकी प्र २–०३–००१ त २७७६ नम्बरको ट्याक्टरले बीआर ०५ एएफ ०६४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत बिहार राज्य मोतिहारीका ३० वर्षीय मिन्टु रामको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेका कारण प्रहरी उनको खोजीमा जुटेको छ ।
त्यसैगरी, जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित सडकमा मंगलबार राति जीतपुरबाट सिमरा जाँदै गरेको ना २८ प ९३४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्सा वीरगंज महानगरपालिका ३१ निवासी २२ वर्षीय सुशान्त चौधरीको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका चौधरीको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा ज्यान गएको हो । सो मोटरसाइकलमा सवार अर्का एक जनाको एभरग्रीन तराई अस्पताल, सिमरामा उपचार भइरहेको छ ।
यस्तै, महागढीमाई नगरपालिका ७ तेलकुवा सडक खण्डमा बीआर ०५ एक्स ७९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटनामा परेको थियो । दुर्घटनामा भारत बिहार मोतिहारीका ३८ वर्षीय रामबाबु पाठक गम्भीर घाइते भएका थिए ।
उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो । तीन वटै घटनाका कारणहरूको थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।




