सर्लाही । सर्लाहीमा जारी शीतलहर र चिसोले मधेशको जनजीवन कष्टकर बनेको छ । चन्द्रनगर गाउँपालिका ६ का थुप्रै परिवारहरू फुसको छाना र बनमाराको घेरेको झुपडीमा बस्दै आएका छन् । सामान्यतया एक कोठे छाप्रोमा परिवारका धेरै सदस्यहरू मिलेर बस्नुपर्ने बाध्यता छ ।
जाडोमा पातलो खरले छाएको छानोले चिसोबाट जोगिन कठिनाइ भएको छ भने वर्षाको समयमा पानी चुहिने समस्या उत्पन्न हुन्छ । कतिपय परिवारले गाईवस्तु र मानिसहरूलाई एउटै छाप्रोमा राख्नुपर्दा दुर्गन्धले सुत्न समेत गाह्रो हुने गरेको छ । कठांग्रिने जाडोले रातभरि बाहिर आगो तापेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
गरिब समुदायको जीवनमा चिसोको चपेटा
तराईका माझी, मुसहर लगायत दलित समुदायमा शीतलहरले जीवन कष्टकर बनाएको छ । यी समुदायका धेरैजसो भुमिहीन सुकुम्बासी हुन्, जसले ऐलानी जमिन वा अरूको खेतवारीमा काम गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
चिसोले गर्दा खेतको काम समेत प्रभावित भएको छ । यसले उनीहरूको चुलो बाल्नसमेत समस्या भएको छ । पछिल्ला केही दिनयता चिसो हावा, बाक्लो कुहिरो र स्याठले जनजीवनमा प्रतिकूल असर गरेको छ । विशेष गरी गरिब र विपन्न समुदायले जाडो छल्न जुटको बोरा र परालको प्रयोग गरेर बनाइएको सिरक र डसना ओढ्ने गरेका छन् ।
चिसोका कारण स्वास्थ्य समस्या र प्रभाव
चिसोको कारण ग्रामीण क्षेत्रमा दम, निमोनिया, ज्वरो, खोकी लगायत स्वास्थ्य समस्या बढेका छन् । विशेष गरी वृद्धवृद्धा र बालबालिका यसबाट बढी प्रभावित भएका छन् । चिकित्सकहरूले न्यानो कपडा लगाउन, तातो झोलिलो खानेकुरा खान र अत्यावश्यक कामबाहेक बाहिर नजान सुझाव दिएका छन् ।
सरकारी सहयोगको अभाव
विगतमा स्थानीय सरकारले दाउरा वितरण गर्ने गरेको भएपनि यस वर्ष अहिलेसम्म कुनै सहयोग उपलब्ध भएको छैन । भूमिहीन सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने सरकारी योजनाहरूले समेत प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् । स्थिर सरकारको अभावमा आयोगहरूको काम नियमित नभएको स्थानीय स्तरका अधिकारकर्मीहरूले जनाएका छन् ।
यातायात र जनजीवनमा असर
बाक्लो कुहिरोले पूर्व–पश्चिम राजमार्गसहितका सडकहरूमा यातायात प्रभावित भएको छ । सवारी साधन बत्ती बालेर सञ्चालन गर्नुपरेको छ भने सडकमा चहलपहल कम देखिन्छ । तराईका गरिब, विपन्न र दलित समुदाय चिसोले कष्टकर जीवन बिताउन बाध्य छन् । उनीहरूलाई राज्यको तर्फबाट तत्काल राहत र दीर्घकालीन योजनाको आवश्यकता छ । विशेष गरी न्यानो कपडा, दाउरा र स्वास्थ्य सेवामा पहुँच पुर्याउन ध्यान दिनुपर्ने देखिन्छ ।




