कैलाली । कैलाली जिल्लाको विभिन्न स्थानबाट शनिबार प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध चरेश र हेरोइनसहित तीन जनालाई पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका १ स्थित एक पसलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने ७३ ग्राम ८४० मिलिग्राम पदार्थसहित २९ वर्षीय जग्दिश भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
बैतडी पाटन नगरपालिका ८ निवासी भट्टको पसल तलासी गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो । तलासी इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गरेको थियो ।
त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका १ पार्क मोडबाट खैरो हेरोइन जस्तो देखिने १ सय ९० मिलिग्राम लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढीका २२ वर्षीय अभिषेक बसुवा र गौरीगंगा नगरपालिका १ का २२ वर्षीय विष्णु गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले तीनै जनाविरुद्ध लागूऔषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाउँदै आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




