अछाम । अछामको ढकारी गाउँपालिका ८ पल्सातामा बाख्रा चराउन गएका दुई किशोरीको शव जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको छ । मृतक किशोरीहरूको उमेर क्रमशः १३ र १५ वर्ष रहेको छ ।
स्थानीय षोडशा सामुदायिक वनमा शुक्रबार बिहान बाख्रा चराउन गएका किशोरीहरू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको स्थानीयहरूले बताएका छन् ।
घटना बारे जानकारी दिँदै अछामका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले घटना विभत्स रहेको र अनुसन्धान थालिएको जानकारी दिए । घटनास्थलमा पुगेका स्थानीयका अनुसार किशोरीहरूको शव लगभग २० मिटरको दूरीमा फेला परेको छ ।
घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ। तर राति अनुसन्धानमा कठिनाइ भएकाले शनिबार बिहान प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाउने तयारी गरिएको छ ।
टेलिफोन सम्पर्कको अभाव
घटना भएको क्षेत्रका अधिकांश स्थानमा टेलिफोन सम्पर्कको अभावका कारण घटना बारे थप विवरण प्राप्त हुन सकेको छैन । यस घटनाले स्थानीयबासीलाई स्तब्ध बनाएको छ । प्रहरीले घटनाको छानबिनलाई तीव्र बनाउँदै सत्य तथ्य बाहिर ल्याउन अनुसन्धान गरिरहेको जनाएको छ ।




