काठमाडौं । मध्यराति पोखरा महानगरपालिका ८ सिर्जना चोकको साइमन पार्टी प्यालेसमा छिरेर रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका १० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका ३ की २९ वर्षीया पूजा श्रेष्ठ रहेका छन् ।
प्रहरीले उनीहरूलाई बुटवल उपमहानगरपालिका ११ कालिकानगरस्थित होटलबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए । साइमन पार्टी प्यालेसमा गत माघ ११ गते राति १ बजे १४ लाख ७४ हजार रुपैयाँ चोरी भएको थियो ।
रकम चोरी भएपछि वडा प्रहरी कार्यालय बैदामको टोली अनुसन्धानमा जुटेको थियो । अनुसन्धान सिलसिलामा दुबैलाई माघ १३ गते पक्राउ गरिएको शर्माले बताए ।
पोखरामा चोरीपछि उनीहरू भागेर रुपन्देहीको होटलमा बसेका थिए । होटलबाट चोरी भएको नगद १२ लाख ५२ हजार ५८० रुपैयाँ बरामद गरिएको शर्माले बताए ।
‘चोरी भएको केही रकम उनीहरूले खर्च गरिसकेको देखिएको छ,’ शर्माले भने । दुबैलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ६ दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ ।






