सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १५ को चुरे क्षेत्रमा मंगलबार साँझ बस दुर्घटनामा परेको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।
लालबन्दीबाट सिन्धुलीको मरिण कपिलाकोटतर्फ जाँदै गरेको बा २ ख ६४३३ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको जन्ती बोकेको अर्को बसलाई साइट दिने क्रममा चिप्लिएर सडकबाट करिब १० मिटर तल खसेको हो । प्रहरी निरीक्षक पाठकका अनुसार बसका चालकलाई सामान्य चोट लागेको छ भने अन्य यात्रुहरू सुरक्षित छन् ।
एकतर्फी अप्ठ्यारो कच्ची सडकमा दुई वटा बस वारपार हुने ठाउँ नभएपछि दुवै बस रोकिएका थिए । रोकिएको मौकामा चालकबाहेक सबै यात्रु झरेपछि चालकले बस अघि बढाउने क्रममा बस चिप्लिएर पल्टिएको थियो । यात्रुहरू पहिल्यै झरेका कारण सम्भावित मानवीय क्षति हुन पाएन ।
प्रत्यक्षदर्शीका अनुसार यात्रुहरूले जोखिम देखेर बसबाट ओर्लिएकाले ठूलो दुर्घटनाबाट जोगिएको हो । दुर्घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट असई शम्भु चौधरीको नेतृत्वमा पाँच जना प्रहरी घटनास्थलमा पुगेका थिए । त्यसपछि अर्को बसको व्यवस्था गरी यात्रुलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।




