पर्सा । प्रेमिकालाई भेट्न गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका, मिर्जापुरका १८ वर्षीय अनिलकुमार यादव रहेका छन् ।
माघ १३ गते राति करिब ९ बजे वीरगंज २४ रामगढवा बजरङ्ग हलनजिक बस्ने प्रेमिकालाई भेट्न गएका यादवलाई प्रेमिकाको परिवारले देखेपछि लखेटेका थिए । भाग्ने क्रममा घरको छतबाट छिमेकीको छतमा हाम फाल्दा उनी गम्भीर घाइते भएका थिए ।
घाइते यादवको उपचारका क्रममा एलएस न्युरो अस्पताल, बहुअरी, बारामा हिजो बिहान ६:०४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका परिवारजनले प्रेमिकाका आफन्तजनले यादवलाई नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लगाएका छन् ।
प्रहरीले प्रेमिकासहित यादवलाई कुटपिट गर्ने र लखेट्ने पाँच जनालाई हिरासतमा लिएर ज्यान मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
यसै घटनामा प्रेमिकाका आफन्तजनमध्ये वीरगंज २८ बस्ने राकेश महतो लखेट्ने क्रममा लडेर सामान्य घाइते भएका छन् । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार प्रेम सम्बन्ध बारे परिवारलाई थाहा भएपछि युवतीलाई नै फोन गर्न लगाएर युवकलाई बोलाउने षड्यन्त्र गरिएको हुन सक्ने आशंका गरिएको छ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




