वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध मुद्दामा अदालतबाट सजाय पाएर २० वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ का ४१ वर्षीय चन्दन कुमार रौनियार रहेका छन् ।
उनलाई जिल्ला अदालतले २०६१ असार १३ गते लागूऔषध चरेस मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष ७ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
दुई दशकदेखि फरार रहेका उनलाई पर्सा जिल्ला प्रहरी कार्यालयबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले बिहीबार वीरगञ्जको नगवाबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डीएसपी सुवास भट्टले जानकारी दिए ।
त्यसैगरी, बिहीबार नै प्रहरीले विभिन्न मुद्दामा २४ हजार ३४७ रुपैयाँ जरिवाना तोकिएका १२ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।




