बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाबाट खटिएको टोलीले ७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ का ३१ वर्षीय विक्रम लामा र मनहरी गाउँपालिका २ का ६८ वर्षीय जीवन स्याङबो रहेका छन् । उनीहरू हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा प्र ०३-००५ प ७२६६ नम्बरको स्कुटरमा सवार रहेका थिए ।
प्रहरीले नियमित जाँचका क्रममा स्कुटरबाट ठूलो परिमाणमा गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना माथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।




