कैलाली । कैलाली प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो धनगढी उपमहानगरपालिका ३ बाट ब्राउनसुगर जस्तो देखिने ११० मिलिग्राम लागूऔषधसहित लम्कीचुहा नगरपालिका १ बस्ने २३ वर्षीय भरत सञ्ज्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यसैगरी, बुधबार साँझ गोदावरी नगरपालिका २ पहाड रोडबाट २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सोही नगरपालिका २ तेघरीका २२ वर्षीय धिरज बलायर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
यस्तै, धनगढी उपमहानगरपालिका ३ मिलन चोकबाट १३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित गोदावरी नगरपालिका २ की २२ वर्षीय रिया भन्ने विष्णा पाली पक्राउ परेकी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ ।




