कैलाली । कैलालीको गोदावरी नगरपालिका ११ गोठानमा एक आमा र उनकी सानी छोरी मृत अवस्थामा फेला परेका छन् । बिहीबार साँझ २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत फेला परेका हुन् ।
आमा छोरी घरमै झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए । परिवारका सदस्य नरेश विकले उनीहरूलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाका बेला मृतक मिराका श्रीमान भारतमा रोजगारको सिलसिलामा रहेका थिए भने उनकी सासु पनि घरमा नभएको प्रहरीले जनाएको छ । हाल दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




