महोत्तरी । महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएको छ । पछिल्ला तीन दिनयता पूर्वपश्चिम राजमार्ग क्षेत्रका वन नजिकका बस्तीमा हात्तीको उपस्थिति बढ्दै गएको छ ।
गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूहमा पसेका हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेका छन् । पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले विशेष गरी गौशालामा बढी क्षति पुर्याएको छ ।
बिहीबार राति हात्तीको समूहले गौशाला ८ ढल्केबरमा पाँच सात वटा गोठघर भत्काइदिएको छ । समूहमा रहेका गज, ढोइ र छावासहितका हात्तीले उखु, केरा, कोबी, मकै, गहुँसहितका बाली नष्ट गरेको छ ।
जङ्गली हात्तीको समूह बिहानपख बर्दिबास ५ को केही क्षेत्रमा समेत प्रवेश गरेको स्थानीयले बताएका छन् । हात्ती प्रायः मध्यरातपछि बस्ती पस्ने र बिहान चार बजेअघि नै वनक्षेत्रतर्फ फर्कने गरेको छ ।
पछिल्लो साताभित्रै हात्तीको समूहले विभिन्न बस्तीमा १० बिघाभन्दा बढीको बालीनाली सखाप पारेको छ । बर्सेनीजसो जङ्गली हात्तीले बर्दिबास र गौशालाका बस्तीमा क्षति पुर्याउँदै आएपनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन ।
यसअघि पनि हात्तीले बस्तीमा घर भत्काएर ठूलो क्षति पुर्याएको थियो । वन सम्बद्ध कार्यालयले हात्ती नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ ।
डिभिजन वन कार्यालयले मातहतका सबै सवडिभिजन वन कार्यालय र वन सुरक्षा गस्तीलाई सचेत रहन तथा स्थानीयबासीसँग सहकार्य गर्न आग्रह गरेको छ । साथै, निकट पर्सा वन्यजन्तु आरक्षण केन्द्रलाई पनि जानकारी गराउने बताइएको छ ।




