काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीको क्षति मूल्याङ्कन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ । सहरी विकास मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर गणेश कर्माचार्यको संयोजकत्वमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका इन्जिनियर गणेश पाण्डे र खानेपानी मन्त्रालयका एक जना उपसचिव सदस्य रहने गरी छानबिन समिति गठन गरिएको हो ।
समितिलाई आगलागीबाट भएको क्षतिको मूल्याङ्कन गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारी तथा सुरक्षाका उपायहरू सुझाउने कार्यादेश दिइएको छ । शनिबार बिहान ८:४० बजे मन्त्रालयमा आगलागी सुरु भएको थियो, जसलाई ९:१५ बजे नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक रिपोर्ट अनुसार, आगलागीले खानेपानीमन्त्री अभिषेक यादवको कार्यकक्ष पूर्ण रूपमा नष्ट भएको छ ।
साथै, सोही तलाका तीन कोठामा समेत क्षति पुगेको छ । मन्त्रीको कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसीटीभी क्यामेराको मोनिटर लगायतका सामग्री जल्दा ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सरकारले छानबिन समितिलाई यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।




