बारा । सिम्रौनगढ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखबीचको पुरानो विवाद फेरि चर्किएको छ । नगरपालिकाको उपप्रमुख नजमु शेहरले बुधबार नगर कार्यालयमा तालाबन्दी गरेकी छन् ।
उपप्रमुख शेहरले नगरसभामा भएको सहमति विपरीत नगरप्रमुख किशोरीप्रसाद कलवारले आफ्नो भागमा परेका विकास निर्माण सम्बन्धी योजनाहरूको कार्यादेश रोक्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको आरोप लगाएकी छन् ।
करार कर्मचारीको तलब वितरणमा पक्षपात
उनले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालले आफू खुसी केही करारका कर्मचारीहरूलाई मात्र तलब दिएको र अन्यलाई बेवास्ता गरेको बताइन् । जब उनले यस बारे नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण मागिन्, तब दुवैले एकअर्कालाई दोष दिँदै जिम्मेवारीबाट पन्छिन खोजेको उनले आरोप लगाइन् ।
नगरप्रमुखद्वारा वार्ताको प्रस्ताव
नगरप्रमुख कलवारले भने समस्या समाधानका लागि वार्तामा बस्न तयार रहेको बताएका छन् । तर त्यसका लागि पहिले तालाबन्दी खुलाउनु पर्ने उनको भनाइ छ । उनले तालाबन्दीका कारण कर्मचारीहरू प्रभावित बनेको र कामकाजमा अवरोध भएको उल्लेख गरे ।
नगरपालिकामा पुनः विवाद चर्किंदै
सिम्रौनगढ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखबीच लामो समयदेखि विवाद रहँदै आएको छ । डेढ वर्षसम्म विवादका कारण शिक्षकमात्र होइन, कर्मचारीहरूले समेत तलब पाएका थिएनन् ।
स्थानीय प्रशासनको पहलमा जनप्रतिनिधिहरू बीच समझदारी बनेपछि नगरसभा सम्पन्न भएको थियो, जसले केही तनाव कम गरेको थियो । तर, पुन: पुरानै विवाद बल्झिएपछि नगरपालिकाको कामकाज प्रभावित बन्ने देखिएको छ ।




