बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ मा प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
अफिम, गाँजा र नगदसहित २ जना पक्राउ
बुधबार दिउँसो प्रहरीले ४ किलोग्राम अफिम, ७।२ किलोग्राम गाँजा, नगद २० हजार रुपैयाँ र १ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका १३ डमरपुरका २२ वर्षीय संजय मोक्तान र धादिङ गजुरी गाउँपालिका ३ नाङगी टोलका २९ वर्षीय सुन बहादुर थिङग रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र ३-०२-००७ प ८२३९ नम्बरको मोटरसाइकल८ चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
ब्राउनसुगरसहित २ जना पक्राउ
बुधबार राति प्रहरीले ४ मिलिग्राम ब्राउनसुगरसहित थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १७ बाबु चोकका २५ वर्षीय अनिष बिक र सोही उपमहानगरपालिका ८ कमानेका २२ वर्षीय दिवाकर दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले बा प्र ३-००६ प ००७६ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
अफिम जस्तो देखिने पदार्थसहित १ जना पक्राउ
यसैगरी, बुधबार बिहान प्रहरीले करिब ५ किलोग्राम अफिम जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ६ गोगनेका २५ वर्षीय भुवन सिंह थिङग रहेका छन् ।
उनी बा ३६ प २७१४ नम्बरको मोटरसाइकलमा हेटौंडाबाट वीरगंजतर्फ जाँदै गर्दा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई लागूऔषध मुद्दामा आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।




