कैलाली । कैलालीको गौरीगंगा नगरपालिका १ र वडा नम्बर २ जोड्ने चौमाला खोलामा निर्माणाधीन मोटरेबल पुल पाँच वर्ष बित्न लाग्दा पनि अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण पुल निर्माण कार्य पूर्ण रूपमा रोकिएको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।
तीन वर्षमै सक्नुपर्ने उक्त पुलको निर्माण सम्झौता २०७७ असार ३१ गते भएको थियो । तर, सम्झौता भएको पाँच वर्ष पुग्न लाग्दा समेत पुल निर्माणकार्य अत्यन्त सुस्त गतिमा अघि बढेको छ । पूर्वाधार विकास कार्यालयका इञ्जिनियर विनोद खड्काका अनुसार ६० मिटर लम्बाइको पुलको हालसम्म वडा नम्बर २ तर्फको एबोटमेन्ट क्याप मात्र बनेको छ भने वडा नम्बर १ तर्फको एबोटमेन्ट र बीच भागको पाइलिङ अधुरो अवस्थामा छ ।
७ करोड ठेक्का लिने कम्पनीले २ करोड लिइसक्यो, तर पुल अधुरै
पुल निर्माणका लागि १२ करोड ७३ लाख रुपैयाँ अनुमानित लागत तोकिएको थियो भने ठेक्का लिने निर्माण कम्पनीले ७ करोड २३ लाख ८० हजार रुपैयाँमा सम्झौता गरेको थियो । हालसम्म २ करोड ३ लाख ४० हजार रुपैयाँ भुक्तानी गरिसकिएको छ, तर पुल निर्माण कार्य निकै धीमा रहेको छ ।
स्थानीयवासी मर्कामा, वर्षायाममा खोला तर्न बाध्यता
पुल नबन्दा चौमाला बजारका स्थानीयवासीलाई वर्षायाममा खोला पार गर्न निकै कठिनाइ हुने गरेको छ । स्थानीय सागर थापाका अनुसार, सरकारी सेवा लिन, विद्यार्थी विद्यालय जान तथा व्यापार व्यवसाय गर्न दुवै वडाका बासिन्दा खोला तर्न बाध्य छन् । वर्षायाममा पानीको बहाव बढ्दा उनीहरूलाई तीन किलोमिटर लामो वैकल्पिक बाटो अपनाउनु पर्ने अवस्था रहेको छ ।
कटैनी नदीमा पनि पुल अलपत्र, बजेट फ्रिज हुने समस्या
यस्तै, वडा नम्बर ५ अण्डैया र वडा नम्बर ९ लिक्मा जोड्ने कटैनी नदीमा पनि निर्माणाधीन पुल वर्षौँदेखि अधुरै छ । ५० मिटर लम्बाइको सो पुल निर्माणका लागि ५ करोड २८ लाख रुपैयाँमा सम्झौता गरिएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि निर्माण कम्पनीको लापरबाहीका कारण काम अझै सुरु नभएको स्थानीयले गुनासो गरेका छन् ।
प्रत्येक वर्ष पुल निर्माणका लागि बजेट विनियोजन गरिए पनि काममा ढिलाइ हुँदा सो रकम फ्रिज हुने गरेको छ । समयमै निर्माण कार्य सम्पन्न नहुने हो भने यी पुलहरू लामो समयसम्म अधुरै रहने र स्थानीयको सास्ती बढ्ने निश्चित रहेको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ । अब निर्माण कम्पनीलाई कडा दबाब दिएर तोकिएको समयमा काम सम्पन्न गराउने कि वर्षौँसम्म पुल नबनाउने भन्ने प्रश्न उठिरहेको छ । स्थानीयहरू सरकार र सरोकारवालाहरूले तत्काल हस्तक्षेप गरी समस्या समाधान गरिदिन माग गरिरहेका छन् ।




