कैलाली । प्रहरीले कैलालीको धनगढी र टीकापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार राति धनगढी उपमहानगरपालिका ८ बुद्ध चोक नजिकबाट १० ग्राम खैरो हेरोइनसहित सोही ठाउँका २९ वर्षीय बसन्त खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ । त्यस्तै, टीकापुर नगरपालिका ९ खक्रौलाबाट ७६० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २१ वर्षीय जगत बहादुर भण्डारी (टीकापुर नगरपालिका १) र २० वर्षीय शेखर सुनार (टीकापुर नगरपालिका २) रहेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको सु.प.प्र.०१-००९ प ५७७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेकाहरू विरुद्ध आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




