वीरगन्ज । जर्किनभित्र लुकाएर चरेस तस्करी गर्ने क्रममा वीरगन्जबाट एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका २ बुनियादकी ३० वर्षीया आरती यादव रहेका छन् ।
वीरगन्ज महानगरपालिका १६ बसपार्कमा कोठा भाडामा लिएर बस्दै आएकी यादवलाई बुधबार राति ८ बजे प्रहरीले पक्राउ गरेको हो । पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार शंकराचार्य गेटमा चेकजाँचका क्रममा प्रहरी चौकी इनर्वाको टोलीले उनलाई पक्राउ गरेको हो ।
जर्किनभित्र लुकाएर भारत लैजाँदै थिइन् चरेस
नेपाल-भारत आवतजावत गर्ने पैदलयात्रीहरूको चेकजाँच गर्ने क्रममा यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मिश्रले बताए । यादव रातो जर्किन बोकेर भारततर्फ जाँदै गर्दा शंका लागेपछि प्रहरीले जाँच गर्दा प्लास्टिकमा सानो-सानो पोका पारेर लुकाइएको ११ किलो ४ सय ग्राम चरेस फेला परेको थियो ।
पछिल्लो समय चरेस तस्करीको नयाँ तरिका
यसअघि मंगलबार प्रहरीले जिराभवानी गाउँपालिका ५ भलुवाही खोलास्थित झाडीबाट ११ किलो ९५० ग्राम चरेस बरामद गरेको थियो । प्रहरीका अनुसार चरेस तस्करीका लागि नयाँ तरिका अपनाइँदै आएको छ ।
गत शुक्रबार मात्र वीरगन्ज-१६ चालिस फिट्टे सडकबाट सर्लाही विष्णुपुर गाउँपालिका ४ मधुवनगोठका ४५ वर्षीय सुधीर कर्णलाई प्रहरीले पक्राउ गरेको थियो । उनले जर्किनमा घ्यू राखेर तलपट्टी चरेस लुकाएर भारत लैजान खोजेका थिए ।
प्रहरीका अनुसार पक्राउ परेकी यादव भरिया हुन सक्ने आशंका गरिएको छ । ‘उनले कहाँबाट चरेस ल्याइन् र कहाँ लैजान लागेको थिइन् भन्ने बारे अनुसन्धान भइरहेको छ,’ प्रहरी उपरीक्षक मिश्रले बताए ।
खुला सीमाको फाइदा उठाउँदै लागूऔषध तस्करहरूले नयाँ तरिका अपनाइरहेको प्रहरीको निष्कर्ष छ । हाल पक्राउ परेकी यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।




