सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ३ का नेकपा एमालेबाट निर्वाचित वडासदस्य परीक्षण महतोले नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीमाथि गालीगलौज गर्दै दुर्व्यवहार गरेका छन् ।
महतोले लामो समयदेखि विद्युत् महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण शाखाका कर्मचारीहरूले प्रक्रिया अनुसार फागुन ६ गते मंगलबार राति करिब ९ बजे हरिवन ४ स्थित धारटोलमा उनको घरको लाइन काटेका थिए ।
यसै कारण आक्रोशित बनेका वडा सदस्य महतोले कर्मचारी अशोक कुमार कुशवाहालाई ‘मेरो लाइन किन काटिस् ? तिमीलाई काटेर फालिदिन्छु’ भन्ने धम्कीपूर्ण शब्द प्रयोग गरेका थिए ।
उक्त घटनाको भिडियो समेत सार्वजनिक भएको छ । घटनाका क्रममा महतो धारटोल निवासी रामवृक्ष महतोको घरमा भोज खाइरहेका थिए । सोही क्रममा आक्रोशित महतोले अपशब्द प्रयोग गर्दै कुशवाहालाई धम्की दिएका हुन् ।
यस विषयमा नेपाल विद्युत् प्राधिकरण तथा स्थानीय प्रशासनले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




