धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल निरन्तर रूपमा विकास निर्माणका काममा सक्रिय रहेपनि स्थानीय केही व्यक्तिहरूले सार्वजनिक संरचनामा तोडफोड गर्ने गरेका छन् ।
अन्य ठाउँमा जनप्रतिनिधिले काम नगरेको भन्दै जनताले असन्तुष्टि व्यक्त गरिरहेका बेला धनगढीमा भने मेयर हमालको नेतृत्वमा भएका विकासका कामलाई नै तोडफोड गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ ।
धनगढी उपमहानगरपालिकाले सडक मर्मत, विद्युत् बत्ती जडान, ढल निकास सुधार जस्ता महत्वपूर्ण योजनाहरू अघि बढाइरहे पनि रातिको समयमा अज्ञात समूहले ती संरचनामा क्षति पुर्याउने गरेका छन् ।
नगरपालिकाले धनगढीको विकासलाई अवरुद्ध पार्न केही असामाजिक तत्वहरू सक्रिय भएको बताउँदै तोडफोड रोक्न आवश्यक कदम चाल्ने जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको र दोषीमाथि कडा कारबाही गरिने मेयर हमालले स्पष्ट पारेका छन् ।
नगरपालिकाको अपिल
धनगढी उपमहानगरपालिकाले सर्वसाधारणलाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्न आग्रह गर्दै तोडफोड रोक्न सहयोग गर्न अपिल गरेको छ । स्थानीय प्रशासनले निगरानी बढाउँदै घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




