सर्लाही । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित वन कार्यालय नजिक बुधबार टिप्परले हाइसलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३५९१ नम्बरको हाइसलाई ना ७ ख ३२१७८८ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ठक्करपछि हाइसले प्रदेश २–०२–००२ प ७८०७८८ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । मोटरसाइकलमा सामान्य क्षति पुगेपनि चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा हाइसमा सवार बागमती नगरपालिका ९ नयाँबस्तीका १९ वर्षीय प्रेमबहादुर रुम्बा गम्भीर घाइते भएका छन् । उनको टाउको र दाहिने हातमा चोट लागेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा बरहथवा नगरपालिका निवासी दीपक गाहाकी ३ वर्षीया छोरी दृष्णा गाहा सामान्य घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको भएपनि उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
टिप्परको ठक्करका कारण हाइसको पछाडिको भागमा क्षति पुगेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




