सिरहा । सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुद्दा शाखाका प्रहरी जवान नवीन यादवलाई पक्राउ गरेको हो ।
पीडित महिलाले यादवविरुद्ध बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।
पीडित इलाका प्रहरी कार्यालय लहानमा पटक पटक जाहेरी दिन गएकी थिइन् । तर, जाहेरी दर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी दर्ता गराउनु परेको थियो ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले कानुनी प्रक्रिया अनुसार पीडितको जाहेरीका आधारमा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी यादवलाई पक्राउ गरिएको जानकारी दिए ।
हाल उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




