बारा । बारा जिल्लामा सोमबार र मंगलबार दुई छुट्टाछुट्टै घटनामा ५ जनालाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । पहिलो घटनामा, जीतपुरसिमरा उपमहानगरपालिका १ सिमरास्थित राज होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० ग्रामसहित ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्ने व्यक्तिहरूमा भारत विहार राज्य मोफासिल सिवाना थाना सिवाना चनौर ग्राम पञ्चायत १४ का ३५ वर्षीय गौतम कुश्वाहा, भारत विहार राज्य पूर्व चम्पारण रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत ७ का ३० वर्षीय रन्जन कुमार सिंह र भारत विहार राज्य पूर्व चम्पारण रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत १० का ४० वर्षीय संजिव कुमार राम रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस्तै, दोस्रो घटनामा जीतपुरसिमरा उपमहानगरपालिका २१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ५ ग्रामसहित २ जनालाई मंगलबार बिहान पक्राउ गरिएको छ ।
पक्राउ पर्ने व्यक्तिहरूमा चितवन कालिका नगरपालिका ३ का ५० वर्षीय संचलाल वाईवा र मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४८ वर्षीय हिरालाल वाईवा रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र ३-०३-००२ प ८११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले दुवै घटनाको अनुसन्धान जारी राखेको छ ।




