कञ्चनपुर । हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता उद्धव बोहरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनलाई काठमाडौंबाट पक्राउ गरी कञ्चनपुर ल्याइएको छ ।
३४ वर्षीय बोहरा नेपाली कांग्रेस कञ्चनपुरका सदस्य समेत रहेका छन् । उनीविरुद्ध वेदकोट नगरपालिका १ का हर्कबहादुर खडायतको हत्यामा संलग्न रहेको आरोप छ ।
२८ कात्तिकमा कुटपिट, १० पुसमा मृत्यु
एसपी चक्रराज जोशीका अनुसार, बोहरासहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका १ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका खडायतलाई घेरा हालेर कुटपिट गरेका थिए ।
उक्त घटनापछि पाँच जनाविरुद्ध ‘कर्तव्य ज्यान उद्योग’ शीर्षकमा मुद्दा दर्ता गरिएको थियो । तर, उपचारकै क्रममा १० पुस २०८० मा खडायतको मृत्यु भएपछि मुद्दालाई ‘कर्तव्य ज्यान’मा परिवर्तन गरिएको थियो ।
अझै चार जना फरार
प्रहरीका अनुसार बोहरा पक्राउ परेपनि सोही मुद्दामा संलग्न अन्य चार जना अझै फरार छन् । उनीहरूलाई खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




