वीरगंज । मिटरब्याजको पीडा सहन नसकी पर्साको जिल्ला प्रशासन कार्यालय परिसरमा एक शिक्षकले आत्मदाहको प्रयास गरेका छन् । बारा जिल्ला पचरौता नगरपालिका ४ बेलदारी निवासी तथा हाल वीरगंज महानगरपालिका २४ रामगढवामा बस्दै आएका ६० वर्षीय बृजकिशोरप्रसाद कलवारले सोमबार आत्मदाहको प्रयास गरेका हुन् ।
उनले कीटनाशक औषधि सेवन गरी शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए । तर, कार्यालय परिसरमा रहेका सशस्त्र प्रहरीले तुरुन्तै उद्धार गरी अस्पताल पुर्याएपछि उनको ज्यान जोगिएको छ ।
२० लाख ऋण, २ करोडको सम्पत्ति गुमाउने पीडा
कलवारले हालसम्म २० लाख रुपैयाँ ऋण लिएको तर साँवा ब्याज तिर्न नसक्दा आफ्नो नाममा रहेको २ करोड रुपैयाँ बराबरको सम्पत्ति मिटरब्याजीहरूले कब्जा गरेको बताए ।
उनले आफ्नो घर परिवारको भविष्य अन्धकार भएको महसुस गरेपछि आत्मदाहको प्रयास गरेको बताएका छन् । कलवारका छोरा रौनककुमार कलवार बङ्गलादेशमा एमबिबिएसको अन्तिम वर्षमा अध्ययनरत छन्, जुन आगामी अगस्टमा सकिनेछ ।
त्यस्तै, उनकी छोरीले इटालीमा छात्रवृत्तिमा नाम निकालेकी छिन्, तर आर्थिक अभावका कारण अध्ययन प्रभावित हुने अवस्था आएको छ । यही कारण उनले आत्मदाहको प्रयास गरेको किसान मजदूर आन्दोलन सङ्घ, पर्साका अध्यक्ष कृष्णराज ठाकुरले जानकारी दिए ।
मिटरब्याजीहरूद्वारा सम्पत्ति कब्जा
कलवारले विभिन्न व्यक्तिबाट ऋण लिएका थिए, जसको साँवा ब्याज समयमै तिर्न नसक्दा उनले दिएको चेक बाउन्स भयो । कपाली तमसुकको आधारमा मिटरब्याजीहरूले अदालतमार्फत उनको सम्पत्ति लिलाम प्रक्रियामा चढाएका थिए ।
कलवारले स्थानीय असिमा खातुनबाट १ लाख ३६ हजार रुपैयाँ ऋण लिएर चार कट्ठा जग्गा दृष्टिबन्धक राखेका थिए । उक्त जग्गा १० लाख रुपैयाँमा लिलाम भएर बहुदरमाई नगरपालिका डोकैला बहुअरीका बृजमोहन साहले लिलाम स्वीकार गरी धर्मेन्द्र कलवारलाई बिक्री गरेका थिए ।
त्यस्तै, उनले बहुदरमाई नगरपालिकाका सन्तोष रौनियारसँग ६ लाख रुपैयाँ ऋण लिएर चार धुर जग्गा दृष्टिबन्धक राखेका थिए । पछि रौनियारले ६ लाख रुपैयाँको लागि १७ लाख रुपैयाँ लिएको र जग्गा फिर्ता नगरेको कलवारको आरोप छ ।
प्रहरीको प्रतिक्रिया
कलवारको आत्मदाह प्रयासपछि पर्सा प्रहरीले घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सुवास भट्टले कानूनी अधिकारभित्र रहेर मात्र काम गर्न सकिने बताएका छन् ।
उनका अनुसार प्रहरीले पीडक र पीडित पक्षबीच २० पटक समझदारी गराउने प्रयास गरेको थियो । तर, अदालतबाट मिटरब्याजी भनिएकाहरूले निषेधाज्ञा आदेश लिएपछि प्रहरीले केही गर्न नसकेको उनले स्पष्ट पारे ।
मिटरब्याजविरुद्धको संघर्ष
पीडित कलवारका परिवारजनले मिटरब्याजीहरूद्वारा उनीहरू शोषित भएको दाबी गर्दै प्रमाणहरू सुरक्षित रहेको बताएका छन् । पीडकहरूविरुद्ध प्रहरीमा उजुरी दिएपनि छानबिनमा ढिलाइ भइरहेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । यस घटनाले नेपालमा मिटरब्याज समस्याको गम्भीरता पुन: उजागर गरेको छ । पीडित पक्षले न्यायको माग गर्दै कानूनी प्रक्रिया अघि बढाउने बताएका छन् ।




