सिराहा । सिराहाको गोलबजार नगरपालिका ४ स्थित हाइवे होटलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित होटल सञ्चालक र एक किशोर पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, अवैध लागूऔषध बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले होटलमा छापा मार्दा होटल सञ्चालक औरही गाउँपालिका २ बनिनिया टोल बस्ने ३० वर्षीया नगिरा खातुनलाई ६७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
त्यस्तै, सोही होटल बाहिरबाट गोलबजार नगरपालिका ७ चोहर्वाका १६ वर्षीय किशोरलाई समेत ४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुवै जना उपर लागूऔषध सम्बन्धी कानुनी कारबाही अघि बढाइसकेको जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




