धनकुटा । श्रीमानको हत्या आरोपमा उनकी कान्छी श्रीमतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका २, फलैँचाका ३८ वर्षीय खेमबहादुर दर्लामी मगर बिहीबार बेवारिसे अवस्थामा मृत फेला परेका थिए ।
प्रहरीका अनुसार, मृतकको शरीरमा विभिन्न चोट पटक देखिएको र घटनास्थलको अवस्था हेर्दा हत्या गरिएको आशंका गरिएको छ । अनुसन्धानको क्रममा उनकी कान्छी श्रीमती ४४ वर्षीया जीतमाया लिम्बू सहित १९ वर्षीय इन्द्रबहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर, ३१ वर्षीय दाछिरी र १६ वर्षीय एक किशोर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले प्रारम्भिक अनुसन्धानमा घरेलु हिंसाका कारण हत्या भएको हुन सक्ने बताएका छन् । प्रहरीका अनुसार, खेमबहादुरले श्रीमती जीतमायामाथि पटक पटक कुटपिट गर्ने गरेको तथ्य खुलेको छ ।
घटनाको दिन बुधबार अपराह्न पनि विवाद भएको र त्यसक्रममा कान्छी श्रीमतीसहित अन्य व्यक्तिहरूले बाँसको लट्ठीले पेट, ढाड लगायतका भागमा प्रहार गरी घाँटी थिचेर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
प्रहरीले कुटपिटमा प्रयोग भएका लट्ठीसहित विभिन्न प्रमाणहरू बरामद गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




