जनकपुर । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । होली खेल्ने क्रममा शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धी चोकमा केही युवकहरुबीच भएको विवादले उग्ररूप लिँदा छुरी प्रहार भएको हो ।
स्थानीय १९ वर्षीय आँशु यादव माथि छुरा प्रहारबाट घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
छुरा प्रहार गरेको आरोपमा जनकपुरधाम २३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । स्थानीयका अनुसार मृतक यादव घरको एक्लो छोरा थिए । उनको बुबाको मृत्यु मात्र ६ महिना पहिला भएको थियो ।
धनुषासहित मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भएपनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणकुमार सिंहले जानकारी दिए ।




