सलार्ही । सलार्हीको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलले विजय हासिल गरेको छ । सभापतिमा हिमाल घिमिरे ८६२ मत, सचिवमा रोहन उप्रेती ८०३ मत र कोषाध्यक्षमा स्मृति श्रेष्ठ ८०५ मत ल्याउँदै निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्य पदमा श्याम जनम ठाकुर ८१० मत, पुन्य प्रसाद लुइँटेल ८२९ मत, अविना बाहाल ८४८ मत, एलिसा सिँगाली ८९० मत र ऋतिस महर्जन ८०६ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
यस निर्वाचनमा अनेरास्ववियु (क्रान्तिकारी) समूहका उम्मेदवारहरू पराजित भएका छन् । सभापति पदका उम्मेदवार अञ्जना मुञ्जेलले २९३ मत, सचिव पदमा अभिषेक बाँनियाँले २८८ मत र कोषाध्यक्ष पदका सज्जय कुमार महतोले २३५ मत प्राप्त गरे ।
त्यस्तै, सदस्य पदमा मिलन थापाले २८० मत, विष्णुकुमार श्रेष्ठले २२६ मत, इन्दिरावती कुमारी महतोले २३९ मत, विनेश पौडेलले २८९ मत र दिलिप कुमार महतोले २६२ मत प्राप्त गरे ।
मतपरिणाम अनुसार अनेरास्ववियु–नेविसंघ गठबन्धनको प्यानलले क्रान्तिकारी समूहलाई फराकिलो मतान्तरले पराजित गरेको छ । निर्वाचनपछि विजयी टिमले विद्यार्थीका हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।




