रौतहट । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मर्यादा भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा रौतहटबाट दुई जना पक्राउ परेका छन् । परीक्षामा अनुशासनहीन गतिविधि नियन्त्रण गर्न प्रहरीले कडाइ गरेपनि परीक्षार्थीहरूले चिट चोर्न मोबाइलको प्रयोग गरिरहेको पाइएको छ ।
यमुनामाई गाउँपालिका ५ स्थित यमुनामाई माध्यमिक विद्यालय, झुनखुन्वा परीक्षा केन्द्रका परीक्षा निरीक्षकलाई रकम लिएर परीक्षा हलभित्र मोबाइल प्रवेश गराएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । यस्तै, मौलापुर नगरपालिका ५ मा रहेको लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्र बाहिरबाट चिट पुर्याउने कार्यमा संलग्न एक जना समेत पक्राउ परेका छन् ।
रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायका अनुसार परीक्षार्थीहरूले शरीरमा मोबाइल लुकाएर परीक्षा हलभित्र प्रवेश गरेको पाइएको छ । चेकजाँचको क्रममा ४२४ वटा मोबाइल बरामद गरिएको छ, जुन परीक्षामा नक्कल गर्न प्रयोग गरिएको आशंका गरिएको छ ।
परीक्षाको मर्यादा भंग गर्ने कसुरमा पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परीक्षामा शुद्धता कायम गर्न प्रशासनले निगरानी कडा पार्ने चेतावनी दिएको छ ।




