धनुषा । धनुषाको नमुना उच्च माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीमा कक्षा ५ मा अध्ययनरत दुई विद्यार्थी बीचको हाँसी मजाक अप्रत्याशित दुर्घटनामा परिणत भएको छ । विद्यालय छुट्टीपछि बाहिरिने क्रममा कमला नगरपालिका ३ लगमाका १२ वर्षीय दीपेश मण्डलमाथि धारिलो वस्तु प्रहार भएको छ ।
प्राप्त जानकारी अनुसार, दीपेशमाथि सोही कक्षाका विद्यार्थी विदेह नगरपालिकाको बफै निवासी १२ वर्षीय विकास मण्डलले ज्यामिती बक्समा रहेको धारिलो सामानले घोचेका थिए । विद्यालयका प्रधानाध्यापक पवन मण्डलले भने, ‘‘झगडा भएको पनि होइन, छुरा प्रहार भएको पनि होइन । विद्यालय छुट्टीपछि हाँसी मजाक गर्ने क्रममा ज्यामिती बक्समा रहेको धारिलो सामानले घोचिएको हो ।’’
दीपेशको पाखुरा तल कोखामा चोट लाग्दा आठ टाँका लगाइएको छ । विद्यालयकै नजिक रहेको क्लिनिकमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि जनकपुर रेफर गरिएको छ । हाल घटना बारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।




