जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, छैटौँ तहका अधिकृत सुमनकुमार पुरी र जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष वृजकुमार यादवविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
बटेश्वर गाउँपालिका अन्तर्गतका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
निर्माणको लागि ठेक्का बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृतको सूचना सार्वजनिक खरिद ऐनबमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा लुकाइछिपाइ, सार्वजनिक रुपमा सूचना प्रकाशन नगरी भ्रष्टाचार गरेको आयोगको आरोप छ । आयोगले ६ लाख ४४ हजार एक सय रुपैयाँ बिगो माग गरेको छ ।




