सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा रहेको ताज गेस्ट हाउसमा झुन्डिएको अवस्थामा भेटिएकी भारतीय युवतीको मृत्यु प्रकरणमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्ने व्यक्ति हरिवन नगरपालिका १० का ३९ वर्षीय मो. सेराज हुन् ।
प्रहरीले उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा बिहीबार नियन्त्रणमा लिएर अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानका क्रममा सेराजले मृतक महिला रहेको कोठा बुक गरेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
मलंगवा नगरपालिका ९ बाल मन्दिर चोकस्थित उक्त गेस्ट हाउसमा २८ वर्षीया भारतीय नागरिक आरती कुमारी बुधबार मृत फेला परेकी थिइन् । दिउँसो करिब ३ बजे कोठामा रहेको सिलिङ फ्यानमा पासो लागेको अवस्थामा उनको शव भेटिएको थियो ।
प्रहरीका अनुसार घटनास्थलमा भेटिएको भारतीय आधार कार्ड र निर्वाचन आयोगको परिचयपत्रको आधारमा आरती भारतीय नागरिक रहेको पुष्टि भएको छ । उनी दिल्ली राज्य, रोशनपुरा जिल्लाका प्रविनकी २९ वर्षीया श्रीमती भएको खुलेको छ ।




