सिराहा । सिराहाको गोलबजार नगरपालिका ४ निपानेस्थित सडकमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक हजुरबा र नातीको मृत्यु भएको छ ।
गोलबजारबाट मनहौरातर्फ जाँदै गरेको प्र २-०१-००१ प ०२७७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका १३ निवासी ४७ वर्षीय हन्स राज यादव र उनका ३ वर्षीय नाती सूर्य यादवको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका हन्स राज यादवको उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो भने सूर्य यादवलाई विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारको क्रममा बिहीबार राति दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बर्धमान अस्पतालमा र मोटरसाइकलमा सवार अर्का एक व्यक्तिको गोलबजारस्थित लाइफ लङ्ग अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




