रौतहट । सामुदायिक भवन निर्माणमा अनियमितता भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटहरिया नगर प्रमुख अजय प्रकाशसहितका प्रतिवादीविरुद्ध पुनरावेदन दर्ता गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा रौतहटको कटहरिया नगरपालिका २, जमुनिया बजारस्थित सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा फिल्डमा भएको भन्दा बढी परिमाण देखाई गैरकानुनी रुपमा बढी भुक्तानी गरिएको आरोपमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम बिगो रकम रु. १२,५२,९४१.९५ कायम गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।
तर, विशेष अदालतले मिति २०८१/०५/३१ मा उक्त मुद्दामा प्रतिवादीहरूलाई सफाइ दिएको थियो । त्यस फैसलाविरुद्ध आयोगले मिति २०८१/१२/२२ मा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् । अख्तियारले सामुदायिक स्रोत र सम्पत्तिमा हुने अनियमितता र भ्रष्टाचारमाथि शून्य सहनशीलता नीति अपनाउँदै आएको जनाएको छ ।




