महोत्तरी । महोत्तरीमा ७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । यसअघि जलेश्वरमा तीन वर्षीया बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको एक साता नबित्दै यो अर्को घटना सार्वजनिक भएको हो ।
घटना बलवा नगरपालिकाको हो । जहाँ दुई जना युवकले एक सात वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको बताइएको छ । पीडित बालिकाको बुवाले दुई जना युवकहरुले छोरीलाई बिहिबार राति अपहरण गरी बलात्कार गरेको जानकारी दिए ।
उनले आफू राति कामबाट फर्केर घर पुग्दा छोरीलाई नदेखेपछि खोज तलास गर्न निस्किदा छोरी निर्वस्त्र अवस्थामा रुदै कराउँदै गरिरहेको भेटिएको र दुई जना युवकहरु भाग्दै गरेको भेटेपछि आफूले लठ्ठी प्रहार गर्दा एक जना घाइते भएको र अर्को फरार भएको बताए ।
नाबालिग छोरीमाथि अत्याचार गर्ने उपर आफूले कुटपिट गर्दा उसको खुट्टामा चोट लागेको र स्थानीय प्रहरीले छोरी माथि बलात्कार गर्ने उपर कारबाही प्रकृया अघि नबढाएर उल्टै आफूलाई दिनभर थुनेर राखेको आरोप लगाए ।
‘पीडकको अभिभावकले प्रहरीलाई कुटपिट गरेको भनेर खबर गरेको र प्रहरीले छोरीमाथि ती युवकहरुले बलात्कार गरेको भन्दा पनि नसुनेर मलाई दिनभर थुनामा राख्यो’ उनले भने, ‘छोरी माथि तेत्रो घटना भयो र प्रहरीले पनि उल्टै म माथि नै अत्याचार गरे । हामीलाई न्याय चाहियो ।‘
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी संतुलाल प्रसाद जयसवारले जिल्लामा यस घटना बारे जानकारी आए लगतै टोली खटाई बालिकाको स्वास्थ चेकजाँच गराउन लगाएको बताए ।
उनले पीडित बालिकालाई प्रादेशिक अस्पताल जलेश्वर ल्याएर स्वास्थ्य जाँच लगायतको प्रक्रिया अघि बढाएको बताए । अहिले बालिका प्रहरीको संरक्षणमा सुरक्षित रहेको र आवश्यक सबै कानूनी प्रक्रिया भईरहेको डीएसपी जयसवारले बताए ।
डीएसपी जयसवारका अनुसार आरोपी मध्येको एक जना प्रहरीको निगरानीमा खुट्टाको उपचारमा रहेको र अर्को फरार रहेकोले उसको खोजी भइरहेको बताए । उनले आरोपीहरु दुवै जना नावालीग रहेको र घटना बारे थप अनुसन्धान अघि बढाइएको बताए ।
उनले पीडितलाई नै स्थानीय प्रहरी चौकीले दिनभरी थुनेर राखेको भन्ने बारे तत्काल यसको सूक्ष्म अनुसन्धान गर्ने र प्रहरी दोषी देखिए विभागीय कारबाही गरिने बताए ।
उनले चोट लागेका व्यक्ति बलात्कार आरोपी भएको बारे प्रहरीलाई थाहा नभएको हुन सक्ने भएकोले यी कुरा अनुसन्धानबाट खुल्ने बताए ।




