काठमाडौं । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भोग्नुपर्ने भनी फरार रहेका पर्साका लोकनाथ साह तेलीलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
पर्सा विन्दवासिनी गाउँपालिका २ निवासी ६२ वर्षीय लोकनाथलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले सोमबार पर्सा वीरगञ्जबाट पक्राउ गरेको हो ।
उनीमाथि सर्वोच्च अदालतले २०६९ साल कात्तिक २४ गतेको फैसलाबाट कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।
२०६४ साल वैशाख २५ गते, लोकनाथले पर्सा साविक बहुअर्वाभाठा गाविस ५ निवासी ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादका कारण छलफल गर्न बोलाई गोली प्रहार गरी हत्या गरेका थिए । त्यसपछि उनी फरार भएका थिए ।
प्रहरीको अनुसन्धान अनुसार, लोकनाथ पछिल्लो १० वर्षदेखि भारतको चम्पारण, पिपरिया स्थित रामजानकी मन्दिरमा पुजारीको रूपमा साधुको भेषमा लुकिछिपी बस्दै आएका थिए ।
प्रहरीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा पेश गरिसकेको छ ।




