सिराहा । सिराहाको धनगढिमाई नगरपालिका ७ स्थित कसाहा चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुधबार बिहान बा ४४ प १५६१ नम्बरको मोटरसाइकल र स ५ प ७७४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै चालकको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकमध्ये बा ४४ प १५६१ नम्बरको मोटरसाइकल चालक सिराहा सुखीपुर नगरपालिका ८ का ३० वर्षीय जय कुमार गिरी र स ५ प ७७४० नम्बरको मोटरसाइकल चालक कल्याणपुर नगरपालिका १२ का २८ वर्षीय सन्तोष कुमार यादव रहेका छन् ।
दुर्घटनामा घाइते भएका स ५ प ७७४० नम्बरको मोटरसाइकलमा सवार एक जना यात्रुको आरके मेटिसिटी अस्पताल, धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ ।




