धनुषा । धनुषाको मिथिला नगरपालिका ११ अन्तर्गत चुरे क्षेत्रमा पर्ने दुधपानी र माथिल्लो बाहुनमारा बस्तीका बासिन्दा यतिबेला खानेपानीको गम्भीर समस्यामा परेका छन् । सुक्खा मौसम सुरु भएसँगै धाराहरूमा पानी आउन छाडेपछि स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित बनेको छ ।
दुधपानी क्षेत्रको एक मात्र खानेपानी स्रोत सुक्न थालेपछि करिब १६० घरधुरी प्रभावित भएका छन् । धारामा पहिले चौबिसै घण्टा पानी बग्ने गरे पनि अहिले एक घण्टा पनि पानी आउन छाडेको छ । चैत महिनाको पहिलो सातादेखि मुहान सुक्न थालेको र अहिले पानीको आपूर्ति अत्यन्त न्यून भएको बताइएको छ ।
भर्खरै भएको हल्का वर्षाका कारण धारामा पानी आउने समय केही समयका लागि बढेपनि समस्या स्थायी रूपमा समाधान भइनसकेको स्थानीयको गुनासो छ । दीर्घकालीन समाधानको उपायस्वरूप नजिकै रहेको रातु नदीबाट लिफ्टिङ प्रणालीमार्फत पानी तान्ने योजना बनाइएको जनाइएको छ ।
माथिल्लो बाहुनमारा बस्तीमा पनि पानीको अत्यधिक अभाव देखिएको छ । सुक्खा मौसम सुरु भएलगत्तै पानीको जोहो गर्न कठिन हुने, खेत सुक्खा रहने र पशु चौपायाका लागि आवश्यक घाँस उत्पादनमा समेत समस्या हुने अवस्था देखिएको छ । महिलाहरूको दैनिक समयको ठूलो हिस्सा पानी खोज्नमै बित्ने गरेको छ ।
चुरे क्षेत्रका पानीका मुहानहरू सूख्दै जानुमा मौसम परिवर्तन, वन विनाश, अत्यधिक दोहन र अव्यवस्थित विकास निर्माणका कार्यहरू जिम्मेवार रहेको बताइएको छ । यस वर्ष हिउँद याममा पर्याप्त वर्षा नहुँदा जमिनमुनिको पानीको सतह घट्दै गएको र त्यसको प्रत्यक्ष असर मुहानहरूमा देखिएको छ ।




