रामेछाप । सुनकोसी नदीमाथि निर्माणाधीन कोलञ्जोर घाटको पुल झन्डै दुई वर्षदेखि अधुरो अवस्थामा अलपत्र परेको छ । पुल निर्माणको अधिकांश भाग सम्पन्न भए पनि प्रयोगमा ल्याउन नसक्दा यसले स्थानीय बासिन्दालाई ठूलो सास्ती दिएको छ ।
लिखु कोरिडोर सडकलाई मध्यपहाडी लोकमार्गसँग जोड्ने उक्त पुल राज्यको लगानीमा निर्माण गरिएको हो । निर्माण कम्पनीले लगभग सबै संरचनात्मक काम सकिसकेको भए तापनि पेटी, घेराबार तथा सडक जडानको केही काम बाँकी रहेको जनाइएको छ । तर, निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै बाँकी काम रोकिदिएको छ ।
यसले गर्दा पुल भएर यात्रा गर्नुपर्ने रामपुर, बिजुलकोट, गोठगाउँ, सैपु, प्रीति, गुप्तेश्वर, गुम्देल लगायत रामेछापका बस्तीहरूका बासिन्दा अहिले पनि लामो दूरीको वैकल्पिक मार्ग हुँदै यात्रा गर्न बाध्य छन् । यो पुल सञ्चालनमा आए यात्रामा न मात्र सहजता आउने थियो, समय र खर्च दुवै बचत हुने निश्चित छ ।
स्थानीय नेताहरुको भनाइ अनुसार, पुल नचल्दा ओखलढुंगा र सोलुखुम्बु जिल्लासम्मका नागरिकसमेत प्रत्यक्ष प्रभावित भएका छन् । नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकालले भने, “पुल प्राय: बनेको छ, तर थोरै काम रोकिएर जनतालाई दुःख भोगाउनु परेको छ । सवारी साधन त परै जाओस्, पैदल हिँड्नसमेत सकस छ ।”
समस्या गम्भीर बन्दै गएपछि बागमती प्रदेशसभा सदस्य तथा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले पुल स्थलमै पुगेर स्थलगत निरीक्षण गरेका छन् ।
उनले निर्माण कम्पनीका प्रतिनिधिसँग फोन संवाद गर्दै काम तुरुन्त अघि बढाउन आग्रह गरेका छन् । श्रेष्ठका अनुसार, “वैशाख महिनाभित्र बाँकी काम सक्ने प्रतिबद्धता निर्माण कम्पनीले व्यक्त गरेको छ, हामी पनि चाँडो पुल सञ्चालन होस् भनेर पहल गरिरहेका छौँ ।”
पुल सञ्चालनमा नआउँदा रामेछाप नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिकाका अधिकांश बस्तीका नागरिकहरु मन्थली हुँदै वैकल्पिक बाटोबाट बीपी राजमार्ग जोडिन बाध्य छन् । यो पुल सञ्चालनमा आएपछि मध्यपहाडी र बीपी मार्ग जोड्ने छोटो र प्रभावकारी विकल्प तयार हुने थियो ।
स्थानीय बासिन्दाले जनप्रतिनिधिहरूलाई तत्काल पहल गर्न आग्रह गरेका छन् । नेकपा एमाले रामेछापका उपाध्यक्ष ढकाल, सचिव प्रकाशकुमार कार्की, अनेरास्ववियु अध्यक्ष पुष्कर भट्टराईलगायत नेताहरुले स्थलगत भ्रमण गर्दै स्थानीयको मागमा साथ दिएका छन् ।
अब हेर्न बाँकी छ- बाँकी रहेको थोरै काम समयमै सकिनेछ कि पुलको पर्खाइ अझै लम्बिनेछरु जनताको नजर भने सरकार र निर्माण कम्पनीतर्फ नै टिकी रहेको छ ।




