रौतहट । रौतहटको गढीमाइ नगरपालिका ४ की २५ वर्षीया अल्का ठाकुरको शंकास्पद मृत्यु भएको घटनालाई लिएर परिवारजनले जिल्ला प्रहरी कार्यालय रौतहटमाथि जाहेरी लिन आनाकानी गरेको आरोप लगाएका छन् ।
मृतकका बाबु रामकिशोर ठाकुरले शुक्रबार गरुडामा पत्रकार सम्मेलन गर्दै छोरीको मृत्यु रहस्यमय परिस्थितिमा भएको बताए । उनका अनुसार अल्काको मृत्यु फाँसी लगाएर आत्महत्या गरेको जस्तो देखिए पनि घटनामा झा परिवार र प्रहरीले मिलेमतो गरेको आशंका गरिएको छ ।
छोरीको मृत्युअघि आएको थियो चेतावनी फोन
ठाकुरले घटनाको दिन वैशाख १ गते एकाएक ज्वाइँको फोनबाट “छोरी मर्न सक्छ, कस्तो कस्तो गरिरहेकी छ” भन्ने खालको सन्देश पाएपछि आफन्तलाई गौर नगरपालिका ९ सिसवा पठाएका थिए । त्यहाँ पुगेका आफन्तले अल्कालाई घरको पंखामा झुन्डिएको अवस्थामा फेला पारेका थिए ।
पोस्टमार्टमको लागि काठमाडौं पुर्याइयो
घटनास्थलमा प्रहरी पुगेपनि ठाकुर परिवारले गौरमा पोस्टमार्टम नगरी काठमाडौंमा गर्नुपर्ने माग गरेपछि प्रहरीले शव मृतकका भाइ मनमोहन ठाकुरको जिम्मा लगाई काठमाडौं पठाएको थियो ।
प्रहरीमाथि बलजफ्तीको आरोप
शव पुनः रौतहट ल्याइएपछि माइती पक्षले शव अन्त्येष्टि गर्न माग गर्दा तीन ट्रक प्रहरी परिचालन गरी बलजफ्ती झा परिवारलाई शव बुझाइएको पीडित पक्षको भनाइ छ । “लाश खोसेर लगियो, फोटो खिच्न पनि दिएन,” मृतकका बाबु रामकिशोर ठाकुरले भने ।
६ वर्षमा पनि विवाह दर्ता नभएको आरोप
अल्काको विवाह २०७६ जेठ ५ गते दुर्गा भगवती गाउँपालिका ३ मत्सरीका संजीव झासँग भएको थियो । ठाकुर परिवारका अनुसार विवाहपछि साढे २२ लाख रुपैयाँ खर्च गरिएको थियो भने पछिल्लो समय ज्वाइँलाई साढे तीन लाखदेखि सात लाखसम्म रकम सहयोग गरिएको थियो । तर विवाह कहिल्यै दर्ता नगरिएको, अल्का झा परिवारबाट निरन्तर अपहेलित हुँदै आएको र अन्ततः मानसिक तनावको शिकार भएकी थिइन् भन्ने उनीहरूको भनाइ छ ।
प्रहरीको प्रतिक्रिया
जिल्ला प्रहरी कार्यालय रौतहटका मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले भने, “पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी दर्ता गर्न सकिन्न । तर घटना बारे गम्भीर अनुसन्धान भइरहेको छ ।”
पीडित पक्षको माग
ठाकुर परिवारले घटनाको निष्पक्ष छानबिन, हत्याको आशंका गरिएको हुँदा झा परिवारविरुद्ध अनुसन्धान अघि बढाउन र प्रहरीको भूमिकाको न्यायिक जाँच गर्न माग गरेका छन् । उक्त घटनाले रौतहटमा वैवाहिक सम्बन्ध, महिला हिंसा र प्रहरी प्रशासन प्रति उठेका प्रश्नहरूलाई पुनः सतहमा ल्याएको छ ।




