महोत्तरी । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हटाएको सरकारको निर्णयविरुद्ध बर्दिवासमा नागरिक समाजले विरोध ल्याली आयोजना गरेको छ । ‘लोडसेडिङ प्रोत्साहन गर्ने षड्यन्त्र’को आरोप लगाउँदै उनीहरूले सरकारको निर्णयलाई जनविरोधी भन्दै खबरदारी र आक्रोश व्यक्त गरेका छन् ।
बर्दिवास उद्योग वाणिज्य संघ, जनजाति महासंघ लगायतका विभिन्न संघ संस्थाको आयोजनामा भएको खबरदारी ¥याली बर्दिवासको पश्चिम क्षेत्रबाट सुरु भई बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरूले घिसिङ्गको बिदाइ विद्युत क्षेत्रमा पुन: अराजकता ल्याउने संकेत भएको दाबी गरे ।
उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खड्काले कोणसभालाई सम्बोधन गर्दै भने, ‘यो पक्ष–विपक्षको सवाल होइन, यो वेथितिको विरुद्धको खबरदारी हो । कुलमान हटाइएपछि फेरि अघोषित लोडसेडिङ सुरु भएको छ । जनप्रतिनिधिहरू जनताको पक्षमा उभिन चुकेका छन् ।’
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले सरकारको निर्णय प्रति आक्रोश व्यक्त गर्दै भने, ‘षड्यन्त्रपूर्ण ढंगले फेरि लोडसेडिङतर्फ देशलाई धकेलिँदैछ । यस्तो निर्णय व्यवसायी र आम नागरिकको हित विपरित छ । अब खबरदारी गरेर सरकारले जनविरोधी निर्णय लिन नपाउने बनाउनु पर्छ ।’
जनजाति महासंघ महोत्तरीका अध्यक्ष धननारायण श्रेष्ठले सरकार प्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै भने, ‘यो सरकार जनपक्षीय बन्न सकेन । अन्यायको विरुद्धमा पार्टीभन्दा माथि उठेर आवाज उठाउनु आवश्यक छ । राम्रा काम गर्ने व्यक्तिलाई साथ दिनुपर्छ, पार्टीको झोला हेरेर होइन ।’
¥यालीमा सहभागीहरूले ‘जनविरोधी निर्णय खारेज गर’, ‘लोडसेडिङ होइन, सुधार चाहिन्छ’, ‘कुलमानको पुनर्बहाली गर’ जस्ता नारा समेत लगाएका थिए । प्रदर्शनकारीहरूले कुलमान घिसिङ्गको बिदाइलाई प्रतिशोधपूर्ण कार्य भन्दै, सरकारबाट छिटो निर्णय सच्याउन आग्रह गरेका छन् ।




