सर्लाही । सर्लाहीको लखन्देही खोलाको झोलुङ्गे पुलमुनि आइतबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् । लालबन्दी नगरपालिका २ का ४५ वर्षीय लक्ष्मण महतोको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार महतोको शव बालुवामा घोप्टो अवस्थामा, अनुहार जमिनमा गाडिएको अवस्थामा भेटिएको हो । घटना बारे जानकारी पाउना साथ प्रहरी बिहान ६ बजे घटनास्थलमा पुगेको थियो ।
प्रहरी निरीक्षक सुजन पाठकले प्रारम्भिक अनुमान अनुसार महतो पुलबाट खसेर मृत्युवरण गरेका हुन सक्ने बताएका छन् । यद्यपि घटनाको कारण प्रस्ट नभएको र थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।




