रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका १२ मा वडा भित्रका महिलाहरूलाई लक्षित गरी आज शुक्रबारदेखि ‘नौमती पञ्चेबाजा तालिम’ सुरु गरिएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत महिला लक्षित बजेटबाट वडा गौरवको योजना अन्तर्गत यो तालिम सञ्चालन गरिएको हो ।
कला–संस्कृतिको जगेर्ना र संरक्षणसँगै महिलाको सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले तालिम सुरु गरिएको वडाले जनाएको छ । वडा अध्यक्ष सुन्दरमणि सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अध्यक्षता तालिम सञ्चालन उपभोक्ता समितिकी अध्यक्ष जमुना तिमिल्सेनाले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले भने, “आधा आकाश ओगटेका महिलाहरूलाई घरको चुलो चौकामा मात्र सीमित नराखी, सीपमूलक तालिममार्फत जीवनस्तर उकास्न वडा कार्यालय सधैं तत्पर छ ।”
दुई महिना सञ्चालन हुने तालिम
दुई महिना सञ्चालन हुने उक्त तालिममा वडाभित्रका ३० जना महिलाको सहभागिता रहनेछ । तालिम वडा कार्यालयसँगै रहेको आलिसान रिसोर्टमा सञ्चालन हुनेछ । कार्यक्रममा वडा सदस्य चन्द्रकला पनेरूले स्वागत मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै, वडास्तरीय राजनीतिक दलका प्रमुखहरू, टोल विकास संस्थाका अध्यक्षहरू, वडामा क्रियाशील महिला संघ–संस्थाका अध्यक्षहरू, समितिका पदाधिकारीहरू तथा तालिममा सहभागी प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा वडा सदस्य सुकमाया बि.क. ले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन वडा सचिव शंकर क्षेत्रीले गर्नुभएको थियो ।




