सर्लाही । सर्लाही जिल्लाको विष्णु गाउँपालिका ३ मधुवनगठमा आइतबार एक दर्दनाक घटना भएको छ । ४० वर्षीय साहेब पासवानले आफ्नी भाइबुहारी ३६ वर्षीया रेणु देवी पासवानलाई धारिलो हतियार (फर्सा) प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार बिहान करिब पौने १० बजे साहेबले फर्साले प्रहार गरी हत्या गरेका हुन् । प्रत्यक्षदर्शीका भनाइ अनुसार साहेबले रेणु देवीको शरीरका विभिन्न भागमा १५ पटकभन्दा बढी फर्सा प्रहार गरेका थिए ।
प्रारम्भिक अनुसन्धानमा प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले दिएको जानकारी अनुसार, साहेबले खाना माग्दा भाइबुहारीसँग विवाद भएको र रिसको झोंकमा फर्सा निकालेर आक्रमण गरेको खुल्न आएको छ ।
स्थानीयबासीका अनुसार, शनिबार घरायसी विवादपछि साहेबकी पत्नी छोराछोरीसहित भारतस्थित माइतीघर गएकी थिइन् । त्यसपछि साहेबले हिजोदेखि भोकै रहेर आज बिहान भाइबुहारीसँग खाना मागेका थिए । तर विवाद चर्किएपछि उनले आक्रोशमा आएर फर्सा प्रहार गरी भाइबुहारीको ज्यान लिएका हुन् ।
हत्यापछि साहेब पासवानलाई प्रहरी चौकी मधुवनगोठले घटनास्थलबाट तत्कालै पक्राउ गरेको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, सर्लाही मलंगवा पठाइएको प्रहरीले जनाएको छ । हाल प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




