रौतहट । स्थानीय तहका सरकार स्थापना भएपछि गाउँ–गाउँमा कालोपत्रे सडक विस्तार तीव्र रूपमा भएको छ । तर, पछिल्लो समय रौतहटका विभिन्न स्थानमा ती सडकहरूमै मकै सुकाउने कार्यले गर्दा सडक दुर्घटनाको जोखिम बढेको देखिएको छ ।
विशेषत: बृन्दावन, सन्तपुर, बालचनपुर, चन्द्रपुर, जुडीबेला र समनपुर लगायतका क्षेत्रमा किसानहरूले मकैको बिस्कुन (छिल्का) र भुट्टा सडकमा फिँजाएर सुकाउने गरेका छन् । यसले गर्दा सवारी सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै विशेषगरी साँझपख दुर्घटनाको सम्भावना उच्च भएको स्थानीयहरू बताउँछन् ।
बृन्दावन नगरपालिका ३ का वडाध्यक्ष रामनरेश पटेलका अनुसार, “सडकमा मकै सुकाउँदा आधा सडक नै ढाकिने अवस्था आएको छ । यसले गर्दा मोटरसाइकलदेखि ठूला सवारी साधनसम्म चलाउन निकै कठिन भएको छ ।”
वडाध्यक्ष पटेलले यस्तो कार्यप्रति सम्बन्धित निकायहरूको चासो नदेखिएको आरोपसमेत लगाए । स्थानीय किसानहरू भने सडकमा मकै सुकाउँदा समय र लागत दुवै बच्ने बताउँछन् । खेतसँगैको सडकमा सुकाउने हो भने ढुवानी गर्न नपर्ने, घाम राम्ररी लाग्ने, गुन्द्री वा त्रिपालको आवश्यकता नपर्ने भएकाले सडक उपयुक्त स्थान भएको उनीहरूको भनाइ छ ।
स्थानीय कृषक रामभरोसी साह भन्छन्, “सडकमा मकै चाँडो सुक्छ, ढुवानी खर्च लाग्दैन र सजिलै व्यापारीलाई बिक्री गर्न सकिन्छ । त्यसैले हामी सडकमै सुकाउने गरेका हौं ।” तर, यस कार्यले सडक सुरक्षा व्यवस्थामा गम्भीर असर पारिरहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटले यस्ता कार्य नगर्न आग्रह गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार सडकमा मकै वा अन्य अन्नबाली सुकाउँदा सवारी साधनहरू फस्ने, चिप्लिने वा ठोक्किने सम्भावना बढी रहने भएकाले यस्ता कार्य तत्काल रोक्नुपर्ने आवश्यकता छ ।




