मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका १२ लुम्स गाउँमा पारिवारिक जग्गा विवादले दु:खद रूप लिँदा एक महिलाको मृत्यु भएको छ । देउरानीले बाउसो प्रहार गर्दा गम्भीर घाइते भएकी ३६ वर्षीया दुर्गा ऐडीको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न २५ वर्षीया बिमला बुढाले जेठानी दुर्गालाई घरेलु औजार बाउसोले टाउकोमा प्रहार गरेकी थिइन् । गम्भीर घाइते दुर्गालाई उपचारका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिए पनि पाँच दिनको उपचारपछि शनिबार बिहान ५ बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
परिवारका अनुसार विवादको मूल कारण (कुनिउखात) भन्ने स्थानको साझा जग्गा थियो, जुन तीन भाइबीच औपचारिकरूपमा बाँडफाँट भएको थिएन । त्यही जग्गालाई लिएर देउरानी–जेठानीबीच चर्काचर्की बढ्दा झगडा हिंसात्मक बनेको ससुरा बाचुराम ऐडीले जानकारी दिए ।
घटना अनुसन्धानका लागि प्रहरीले आरोपी बिमला बुढालाई नियन्त्रणमा लिएको छ । हाल उनलाई ६ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






