सुनसरी । सुनसरीको रामधुनी नगरपालिका ६ पिडारीबाट १८० किलोग्राम अवैध लागूऔषध गाँजासहित एक एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति बराहक्षेत्र नगरपालिका ४ निवासी २५ वर्षीय श्रीराज कुमार साह हुन् ।
शनिबार राति इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको टोलीले भारतको नम्बर प्लेट रहेको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
सेतो बोरामा बेरेर राखिएको ६ वटा बोरा गाँजा फेला परेपछि एम्बुलेन्स चालक साहलाई घटनास्थलमै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरिएको गाँजा र पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
सुरक्षा निकायले एम्बुलेन्स जस्ता सेवामूलक सवारी साधनमार्फत लागूपदार्थ ओसार पसारको बढ्दो प्रयोग प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।






