बारा । बाराको निजगढ नगर क्षेत्रका सार्वजनिक स्थानमा सुरक्षाका लागि जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा लामो समयदेखि सञ्चालनमा नरहेको पाइएको छ । करिब सात वर्षअघि स्थानीय तहको आर्थिक सहयोगमा पहिलो पटक १६ वटा क्यामरा जडान गरिएपनि समयमै मर्मत सम्भार नहुँदा तीमध्ये अधिकांश निष्क्रिय बनेका छन् ।
गत वर्ष मात्रै पूर्व-पश्चिम महेन्द्र राजमार्गस्थित इलाका प्रहरी कार्यालय हुँदै भित्री सडकहरू – क्याम्पस रोड, ठाडोलाइन, नदीकाट, तेस्रोलाइन, प्रकाशबस्ती र प्राथमिक स्वास्थ्य केन्द्र जाने चौबाटो सडकमा लक्षित गर्दै थप चार वटा सिसिटिभी क्यामरा जडान गरिएको थियो । तर हाल तीमध्ये केवल शहीद चोकमा रहेको एक मात्र क्यामरा सञ्चालनमा रहेको छ ।
सार्वजनिक स्थलहरूमा हुने गतिविधिको निगरानी गर्न जडान गरिएका यी क्यामरा सुरक्षाको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छन् । तर मर्मतको अभाव, जिम्मेवार निकायको उदासीनता र समन्वयको कमीका कारण अधिकांश क्यामरा प्रयोगविहीन छन् । भित्री सडकहरू हुँदै आवतजावत हुने सवारी साधन तथा मानिसहरूको पहिचान र निगरानीमा समस्या देखिन थालेको छ ।
वडास्तरमा सुरु गरिएको सिसिटिभी जडान योजना विस्तार गर्ने भनिए पनि पछिल्लो समय न योजनाको निरन्तरता देखिएको छ, न त बिग्रिएका उपकरणहरूको मर्मत सम्भार गरिएको छ । सुरक्षासँग जोडिएको यो विषय गम्भीर हुँदा हुँदै पनि सम्बन्धित सरोकारवाला निकायहरूको चासो न्यून देखिएको स्थानीयवासीको गुनासो छ ।
नगरपालिकाको ध्यानाकर्षण गरिए पनि आवश्यक पहल नहुनु र वडा कार्यालय, बैंक तथा व्यापारीहरू समेत सिसिटिभी मर्मतमा उदासीन हुनु, सुरक्षा चुनौतीका रूपमा देखिएको छ । यदि बिग्रिएका क्यामराहरू मर्मत गरी पुनः सञ्चालनमा ल्याइएमा निजगढको सार्वजनिक सुरक्षा व्यवस्थामा ठूलो सुधार आउने सुरक्षा अधिकारीहरूको धारणा छ ।




